Adventure trekking craze among young people worldwide: improvement and prospects of Nepal's mountain tourism
विश्वभरका यूवाहरु माझ साहसिक पदयात्रा प्रतिको क्रेजः नेपालको पर्वतीय पर्यटनको सुधार र सम्भावना: Adventure trekking craze among young people worldwide: improvement and prospects of Nepal's mountain tourism:
पर्वतीय पर्यटनको गतीबिधीलाई सूक्ष्म रूपले अध्ययन गर्दा, विश्वभरका युवाहरू साहसिक पर्यटनप्रतिको निकै आकर्षित देखिन्छन, विशेष गरी पदयात्रा (Trekking) गतिविधिमा । यो आकर्षणका केही महत्वपूर्ण कारणहरू सविस्तार प्रस्तुत गर्ने जमर्को गरेको छु : जस्तै...
धेरै युवाहरू संसारका दूरदराज र कठिन स्थानहरूमा यात्रा गर्न चाहन्छन् । यो अभियानले उनीहरूलाई नयाँ संस्कृति, प्राकृतिक सौन्दर्य, र आफ्नो क्षमता र दक्षता परीक्षण गर्ने अवसर मिल्दछ । उदाहरणका लागिः पेरुको इन्का ट्रेल पदयात्रा (Inca Trail) युवा साहसिक पर्यटकहरूका माझमा अत्यन्तै लोकप्रिय मानिन्छ । यो पदयात्राले माचू पिच्चू सम्म पुर्याउँछ, जहाँ ऐतिहासिक सभ्यताको अवशेषसँगै प्राकृतिक दृश्यहरू अनुभव गर्न सकिन्छ।
स्वास्थ्य र फिटनेस प्रतिको चासोः
संसारभरका युवा पुस्ताहरू आजको यूगमा फिटनेस र स्वास्थ्य प्रति सचेत भएका छन् । साहसिक पदयात्राले उनीहरूलाई शारीरिक र मानसिक रूपमा मस्त र तन्दुरुस्त राख्न मद्दत पुर्याउँछ। यो उनीहरूको जीवनशैलीसँग पनि मेल खान्छ । उदाहरणका लागि नेपालको एभरेष्ट बेस क्याम्प पदयात्रा (Everest Base Camp Trek) र अन्नपूर्ण बेस क्याम्प पदयात्रा (Annapurna Base Camp) संसारभरका धेरै साहसिक युवा पर्यटकहरूले छनौट गरेको लोकप्रिय मार्ग हुन्। यी चुनौतीपूर्ण पदयात्राले उनीहरूलाई उत्कृष्ट शारीरिक अभ्यास र रोमाञ्चक अनुभव प्रदान गर्दछन्।
प्रकृतिसँग नजिक हुन खोज्ने प्रवृत्ति:
द्रुत शहरीकरण र अस्त व्यस्त जीवनशैलीले गर्दा धेरै युवाहरू प्राकृतिक शान्ति र सन्तुलन खोजिरहेका छन्। पदयात्राले उनीहरूलाई प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न अवसर दिन्छ । उदाहरणका लागि अमेरिका को (Pacific Crest Trail) युवा पर्यटकहरूमा धेरै चर्चित छ । यो ४,२०० किलोमिटर लामो पदयात्रा मार्ग हो, जहाँ प्रकृतिको सुन्दरता सँगै साहसिक अनुभवको अनुभुति लिन सकिन्छ।
नेपालको परिप्रेक्षमा पर्वतीय पर्यटनको सुधार र सम्भावनाहरूः
नेपालको पर्वतीय पर्यटन संसारभरका साहसिक पर्यटकहरूका लागि विशेष आकर्षण हो। तर यसको सुधार र दीर्घकालीन सफलताका लागि केही रणनीतिक कदमहरू आवश्यक छन्ः
पूर्वाधारको विकासः
धेरै पर्वतीय क्षेत्रमा अव्यवस्थित आधारभूत पूर्वाधारहरू जस्तै बाटो, यातायात, पुल, पुलेसा, संचार, र आवास सुविधाहरूको अभाव छ। भएका र प्रयोगमा आईरहेकाहरुपनि सुरक्षित र सयमसापेक्षीत छैनन्। यिनीहरुलाई सुधार गर्न सरकार र निजी क्षेत्र एक ढिक्का भएर काम गर्नुपर्दछ । ग्रामीण क्षेत्रमा पर्यटकहरूको सुरक्षित आवागमन र थप सुविधाहरू (जस्तै वाइफाइको सुलव पहुँच, अस्पताल सेवा, आदि उपलब्ध गराउनु पर्छ ।)
पदयात्रा मार्गहरूको विविधताः
नेपालमा विशेषत अन्नपूर्ण, एभरेस्ट, र लाङटाङ क्षेत्रमा बढी पर्यटक केन्द्रित हुन्छन् तर कैंयौं अन्य अन्वेषण गर्न नसकिएका वा ओझेलमा परेका पर्यटकीय गन्तब्यहरुमा नयाँ पदयात्रा मार्गहरूको प्रवद्र्धन गर्न सकिन्छ, जसले पर्यटकहरूको आगमनमा विविधता ल्याउँछ । उदाहरणका लागि (Rara Trek) रारा ट्रेक, (Makalu Base Camp) मकालु बेस क्याम्प, (Mundum Trail) मुन्दुम ट्रेल जस्ता कम खोजिएका क्षेत्रहरूलाई प्रवद्धन गर्न सकिन्छ ।
स्थानीय रैथाने संस्कृतिको प्रवद्धन:
पर्यटकहरू अब केवल प्रकृति मात्र होइन, स्थानीय संस्कृतिलाई पनि अनुभव गर्न चाहन्छन् । बिभिन्न स्थानीय जातीय समूहहरूका कला, संस्कार, खानपान, र जीवनशैलीलाई पर्यटनको हिस्सा बनाउन सकिन्छ । यसले स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुर्याउँछ र आर्थिक समृद्धि पनि ल्याउँछ । पर्वतीय पर्यटनको चहल पहलले स्थानीयहरुको जिविकोपार्जनमा ठूलो टेवा पुर्याएको हुन्छ ।
सुरक्षाको प्राथमिकता तथा प्रत्याभूतीः
साहसिक पर्यटकहरूका लागि सुरक्षाको प्रत्याभूति आवश्यक पर्दछ । पदयात्रा र पर्वतारोहण गतीबिधीमा सहभागी हुने पर्यटकहरूको सुरक्षाका लागि द्रुत उद्धार टोलीहरू, प्रभावकारी स्वास्थ्य सुविधा, र आकस्मिक रेस्क्यूको प्रभावकारी व्यवस्थामा प्रत्याभूती हुने प्रकारको सुधार गर्नुपर्छ । पर्यटकहरूको बीमा प्रणालीलाई प्रभावकारी बनाउनु पनि आवश्यक छ । अनैतीक हेली उद्धारका प्रयास र गतिबिधिहरुलाई राज्यको कानुनी दायरा भित्र ल्याएर सुक्ष्म अध्यन तथा अनुगमन गरी निस्तेज बनाउनु पर्दछ।
पर्यावरण संरक्षणः
पर्यटन क्षेत्रले वातावरणमा असर पर्न सक्छ । पदयात्रा र साहसिक पर्यटनले वातावरणमा न्यूनतम प्रभाव पार्ने र दिगो पर्यटनलाई प्रोत्साहन गर्न आवश्यक छ । यसका लागि सफाई अभियान, ठोस तथा तरल फोहरको बैज्ञानिक व्यवस्थापन, र स्थानीय जैविक विविधताको संरक्षण र संवद्र्धन गरिनु पर्दछ।
निष्कर्षः
नेपालको पर्वतीय पर्यटनमा समयको माग अनुसारको सुधार गर्न सकेमा विश्व बजारमा यसको समृद्धीको ठूलो सम्भावना छ । संसारका साहसिक युवा पर्यटकहरूलाई केन्द्रित गरेर पर्यटनका नयाँ मार्गहरूको प्रवद्र्धन, पूर्वाधार सुधार, सुरक्षाको प्रत्याभूति, र दिगो विकासको सिद्धान्त अपनाउन सकेमा नेपाल साहसिक पर्यटनको प्रमुख गन्तव्यको रुपमा स्थापित हुने कुरामा दुईमत छैन ।
@Surya Bahadur Ghimire
Sept 21, 2024


Comments
Post a Comment